मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए । 
 
उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हो ।’
 
एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताए ।
 
निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने शर्माले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए ।