महाधिवेशन फागुनको पहिलो साता गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय (तलिका सहित)

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
 
कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो ।
 
केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए ।
 
प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट अघि बढाएको नागरिकता विधेयक १६ गतेकै बैठकले फिर्ता लिनुपर्ने निर्णय गरेको थियो ।
 
महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर मंसिर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ ।
 
पार्टीका अन्तरिम संरचनासमेत अझै समायोजन भइसकेका छैनन् । जसले महाधिवेशनको तयारी अघि बढाउन कठिनाई परेको छ । पुरानो राज्य संरचनाका आधारमा रहेको पार्टीका संरचनालाई समायोजन गर्न कांग्रेसले मंसिरदेखि नै सुरु गरेको हो । 
 
२६ जिल्लाको समायोजन हुन अझै बाँकी छन् । समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य हुन सकेको छैन ।
 
बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
 
क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ । 
 
महाधिवेशनको परिमार्जित तालिका
 
-केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
-गाउँ रनगर, वडा अधिवेशन ०७७ पुस ६ गते
-गाउँरनगरपालिका अधिवेशन ०७७ पुस ८ गते
-प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
-प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
-जिल्लाका अधिवेशन ०७७ पुस १३
-एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
-प्रदेश अधिवेशन माघ ६ गते