ओली - प्रचण्ड आज पनि वार्तामा ब्यस्त, वार्ता निर्णायक हुने विश्वास

आषाढ २३,२०७७

-

असार २३,२०७७ काठमाडौं । 
सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि एक्ला एक्लै वार्तामा बसेका छन् ।
 
पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् । अध्यक्षद्वयको वार्ता सकारात्मक भनिए पनि ठोस समाधान निस्किएको छैन ।
 
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच बालुवाटारमा सवा ११ बजेतिरबाट वार्ता सुरू भएको छ । अध्यक्षद्वयको आजको वार्ता निर्णायक हुने नेकपाका नेताहरूले विश्वास गरेका छन् ।
 
प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा गर्न दबाब दिएपछि पार्टीमा आन्तरिक विवाद चुलिएको हो ।
 
हिजो (मंगलबार) पनि झण्डै डेढ घण्टा वान टु वान वार्तामा बसेका दुई अध्यक्षबीचको छलफल अझै मजबुत बनाउँदै निष्कर्षमा पुग्ने समझदारी भएको जनाइएको थियो । हिजोको वार्तापछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट ठोस कुरा नआएको भए पनि वार्ता सकारात्मक रहेको बताएका थिए । प्रचण्डले अझै वान टु वान वार्तालाई तीव्रता दिएर निर्णायक विन्दुमा पुग्ने बताएका थिए ।
 
अध्यक्षद्वयको एक्लै वार्ता अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने मन पराएको छैन । नेता नेपाल निकटका नेताहरूका अनुसार नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षको गोप्य वार्ताप्रति असन्तुष्ट छन् ।
 
दुई अध्यक्षले विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मासहित छलफल गर्दा आफ्नो पक्षका नेतालाई सहभागी नगराएकोमा नेपालका पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।
 
एक नेताका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको राजीनामा माग्ने धेरै नेता नेपाल समूहका भए पनि त्यही विषयमा गरिएको छलफलमा एजेन्डा उठाउने समूहलाई नै राखिएको छैन ।