बाढीले बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध

आषाढ २५,२०७७

-

असार २५,२०७७ काठमाडौं ।
बाजुराको साँफे(मार्तडी सडकअन्तर्गत बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोट(द्वारी खण्ड बाढीले बगाउँदा सयौं यात्रु अलपत्र परेका छन् ।
 
पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक खण्ड बाढीले बगाएको छ ।
 
घटनास्थल साँफे बगरबाट ४० किलोमिटर माथि र सदरमुकाम मार्तडीबाट १३ किलोमिटर तल पर्छ ।
 
३ दिनअघि खसेको पहिरोले बुढीगंगा नदी थुनिएको थियो । दुवैतर्फबाट नदी कटान हुन थालेपछि सडक बगाएको बाजुरका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।
 
अविरल वर्षासँगै आएको बाढीका कारण ताप्रीसेरामा रहेको झोलुंगे पुल पनि नदीले डुबाएको छ । बाढीले एउटा घर बगाएको प्रजिअ गैरेले बताए ।
 
अम्कोट, बल्दे, सेरा बगर, द्वारी र ताप्रीसेरा पहिरोको उच्च जोखिममा रहेको बुढीगंगा नगरपालिकाकी उपप्रमुख तारा खातीले बताइन् । घटनास्थलमा उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।