असार २८ पछि विदेशबाट स्वदेश फर्काउने अभियान रोक्ने

आषाढ २५,२०७७

-

असार २५, २०७७ काठमाडौं ।
 
विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाएको छ ।
 
विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा उद्धार उडानको तालिकाको समय थपिएको थियो ।
 
‘यो अवधिमा नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नका लागि असार २८ पछि उद्धार उडान हुने छैनन्,’ उद्धार उडान अनुमतिमा संलग्‍न मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले भने । 
 
लामिछानेले कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने नत्र कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने बताए ।