नेकपा स्थायी कमिटी बैठक फेरि एक साताका लागि स्थगित

आषाढ २६,२०७७

-

असार २६,२०७७ काठमाडौं ।
पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 
मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
 
देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि स्थगित हुँदै आएको छ ।
 
पार्टीको विवाद मिलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पटकपटक वार्तामा बसेका छन् । यसबीचमा दुई नेता र सहयोगीबीच भएको वार्ताबाट कुनै निष्कर्ष निस्किसकेको छैन ।