म्याग्दी पहिरोले दर्जनौं घर पुरिए ३२ जना बेपत्ता, खराब मौसमले उद्धारमा कठिनाई

आषाढ २६,२०७७

-

असार २६, २०७७ काठमाडौं ।
अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । 
 
धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो । धौलागिरि-६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
 
उनका अनुसार पहिरोले बस्तीसँग यातायात सम्पर्क विच्छेद भएकाले कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । पहिरोमा फसेकाको उद्धार पनि हुन सकेको छैन ।
 
त्यसै गरी मालिका गाउँपालिका-७ बिमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) सहित कम्तीमा ८ जना बेपत्ता भएका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी गराए ।
 
 
‘बिमको पहिरोमा कम्तीमा ८ जना बेपत्ता भएको जानकारी आएको छ । वारिपारि दुवैतर्फ पहिरो गएको र बाढी आएकाले प्रहरीसमेत हामी कोही पनि घटनास्थल पुग्न सकेका छैनौं,’ उनले भने, ‘हेलिकोप्टरको सहयोग मागेका छौं । घटनास्थल पुग्न उपायको खोजी भइरहेको छ ।’
 
पहिरोमा मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जनाभन्दा बढी फसिरहेको जानकारी रहे पनि खराब मौसमका कारण उद्धारका लागि हेलिकोप्टर उड्न नसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।