बाढि पहिरोका घटनामा ५० जनाको मृत्यु, सयौं घरपरिवार विस्थापित

आषाढ २६,२०७७

-

असार २६,२०७७ काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै सबै प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।
 
दुई दिन यताको भारी वर्षाका कारण देशका विभिन्न भागमा पहिरोका घटना बढेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै सबैजसो प्रदेशहरुमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । 
 
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार वैशाख १ देखि शुक्रबारसम्म देशभर पहिरो र बाढीका १ सय ६३ वटा घटना भएका छन्, त्यसमा परेर ५० जनाको ज्यान गएको छ भने २४ जना बेपत्ता छन् ।
 
पहिरो र बाढीका कारण ९१ घरमा क्षति पुगेको छ । यसबाट १२ करोड ८३ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । पहिरोबाट २ सय ६५ परिवार प्रभावित भएका छन् । ३० जेठदेखि नेपालमा मनसुन सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागका विशेषज्ञहरुले यो पटकको मनसुन सुरु भएदेखि नै सक्रिय भएको बताएका छन् । त्यससँगै यो वर्षको मनसुनमा पहिरोका घटना बढी भएका छन् ।
 
वर्षापछि बुधबार वाग्मती प्रदेशको सिन्धुपाल्चोकमा बितण्डा मच्चाएको पहिरो र फ्लास फ्लडले बिहीबार र शुक्रबार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा क्षति गरेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण गण्डकीको कास्कीका विभिन्न स्थानमा पहिरोले जनधनको क्षति गरेको छ । पोखरा-१८ सराङकोट गोठादी, १७ को छोरेपाटन, २५ को हेम्जा, २६ को पौतेडाँडा, १९ को तल्लोडाँडामा पहिरोले क्षति गरेको छ ।
 
विशेषज्ञहरुले जथाभावी र अवैज्ञानिक हिसाबले निर्माण गरिएका विकास निर्माणका संरचनाका कारण धेरै स्थान कमजोर बनेकाले वर्षापछि पहिरो निम्तिएको विश्लेषण गरेका छन् ।
 
 
कास्कीकै माछापुच्छ्रे गाउँपालिका-९ को चुङडुङमा पहिरोले क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ । जानकारहरुका अनुसार पहाडी क्षेत्रमा २४ घन्टामा १ सय मिलिमिटर वर्षा भएमा पहिरोको जोखिम अत्यधिक हुन्छ । २ सय मिलिमिटर वर्षा भए पहिरो सुरु हुन्छ भने ३ सय मिलिमिटर वर्षा भए ठूलो पहिरोको सम्भावना हुन्छ ।
 
शुक्रबार बिहान पौनो ९ बजे २ सय १४ वटा वर्षा मापन केन्द्रहरु ९मानव सञ्चालितः ३७ र स्वचालितः १७७० मा मापन गरिएको वर्षाको विवरणअनुसार १ सय ८६ वटा केन्द्रमा वर्षा भएको छ ।
 
ती केन्द्रमध्ये सबभन्दा बढी वर्षा कास्कीको पोखरा विमानस्थल केन्द्रमा मापन गरिएको महाशाखाले उल्लेख गरेको छ । वर्षा मापन भएका केन्द्रहरुमध्ये एउटामा ५० मिमिभन्दा बढी, २ वटा केन्द्रमा २०० मिमिभन्दा बढी, ३ वटा केन्द्रमा १५० मिमिभन्दा बढी, १६ वटा केन्द्रमा १०० मिमिभन्दा बढी, ५९ वटा केन्द्रमा ५० मिमिभन्दा बढी, १०६ वटा केन्द्रमा २५ मिमिभन्दा बढी र १ सय ४८ वटा केन्द्रमा १० मिमिभन्दा बढी वर्षा मापन भएको छ ।
 
लमजुङको बेसिसहर नगरपालिका– ७ सातबिसे र वडा नम्बर ६ मा पनि पहिरोले क्षति गरेको छ । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ, वडानम्बर ७ को ताकम, मालिका गाउँपालिका–७ बिम र मालिका गाउँपालिका–४ देवीस्थानमा पनि पहिरोले क्षति गरेको छ ।
 
पोखरा–कोरला सडकको भौगर्भिक अवस्था र पहिरोजन्य प्रकोबारे अध्ययन गरिरहेका भूगर्भविद् वसन्तराज अधिकारीले भूकम्पले हल्लाएर कमजोर बनेको भागमा यो पटकको मनसुनमा धेरै वर्षा भएकाले पहिरोको रुप लिएको बताए ।
 
म्याग्दीको गलेश्वरमा भने पुल र मानवबस्ती नै होचो स्थानमा भएको र त्यस क्षेत्रको जलाधारमा पानीको बहाब बढेकाले क्षति गरेको अधिकारीले उल्लेख गरे । जल तथा मौसम विज्ञान विभागले देशका ठूला र मझौला नदीमा पानीको बहाब अनुगमन गरिरहको छ । गण्डकीका पनि धेरै नदीमा पानीको बहाब बढेको छ ।
 
कर्णाली प्रदेशको जाजरकोट बारेकोट गाउँपालिका–४ को सार्कीगाउँमा पनि पहिरोले जनधनको क्षति गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ मा पनि पहिरोले क्षति गरेको छ ।
 
यस्तै, दोलखाको जिरी नगरपालिका–५ लिङकन, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ कमेरेफाँट, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ सिमखेलमा समेत पहिरोले क्षति गरेको छ । पहिरोका कारण बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र भीमफेदी–काठमाडौं सडक खण्ड अवरोध भएको छ ।
 
प्युठानको सरुमारानी गाउँपालिका–४ ठूलोघुम्तीस्थित भालुबाङ प्युठान सडक खण्डमासमेत वर्षाका कारण पहिरोले क्षति गरेको छ । प्राधिकरणका विशेषज्ञहरूले यस वर्ष पहिरोका २ लाख ५० हजार घटना हुने अनुमान गरेका छन् ।
 
मध्य र उच्च पहाडी क्षेत्रमा पहिरोसँगै तल्लो तटीय समथर क्षेत्रमा बाढीको विपद् निम्तिने उनीहरूको आकलन छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालका अनुसार पहाडी क्षेत्रमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्प लगायतका भौगर्भिक हलचल, खोलाखोल्सीको फैलावट, वर्षाको मात्रा भू–उपयोगको तरिका र विकास निर्माणले निर्धारण गरेको हुन्छ ।
 
प्राधिकरणको तथ्यांकअनुसार २०६८ देखि २०७६ सम्म पहिरोका कारण ९ सय ४ जनाको ज्यान गएको छ भने ७ सय ७० जना घाइते भएका छन् । गत वर्षको मनसुनमा ८३ जनाको पहिरोमा परेर ज्यान गएको थियो ।