कालीगण्डकीमा आएको बाढीले विश्वकै ठूलो शालीग्राम शिला डुबानमा

आषाढ २७,२०७७

-

असार २७, २०७७ काठमाडौं ।
लगातारको अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाब बढेपछि विश्वकै ठूलो शालीग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकैठूलो शालीग्राम शिला डुबानमा परेको हो । 
 
कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा रहेका पुजारी तथा पण्डितहरु विस्थापित बनेका छन् । ‘पवित्र शालीग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको छ’ पराजुलीले भने । 
 
बर्सेनी सेतीवेणीका नागरिकहरु जोखिममा पर्दा समेत संरक्षणका लागि उचित ध्यान कुनै निकायबाट पनि पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको उनले बताए ।  पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ ।