सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध

आषाढ २७,२०७७

-

असार २७, २०७७काठमाडौं
 
अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको ११ स्थानमा सडक कटान तथा अवरुद्ध भएको छ । 
 
गत बुधबारदेखिको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १ सय मिटर सडक कटान गरेको छ भने बाह्रबिसे बजार छेउको सडक पनि कटान गरेको छ ।
 
जुरेदेखि नेपालको चीनसँगको प्रमुख नाका तातोपानीसम्म अरिनिको राजमार्गका ११ स्थानमा सडक कटान भएको छ । बाढी र पहिरोले सडक बिगारेपछि तातोपानी नाकासँगको सम्बन्ध टुटेको छ । 
 
२०७२ को भूकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका २०७५ जेठ १५ मा मितेरीपुलको निर्माणपछि उद्घाटन गरिएको थियो । भर्खर सञ्चालनमा आउन लागेको नाका बाढी पहिरोले सडक अवरुद्ध गरेपछि बन्द भएको छ । 
 
नेपाल र चीनबीचको व्यापारका क्रममा सो नाकाबाट मात्रै २ अर्ब बढी राजस्व संकलन हुने गरेको थियो । चीनले सुख्खा बन्दरगाह बनाएर नाका खुलाउन लागेको बेला फेरि बाढीले सडक अवरुद्ध भएको छ । 
चीनले सो नाकाबाट नेपाल भित्रिने पाँच–छ वटा गाडी दैनिक छोड्ने गरेको थियो । बाटो छिटो नबनेमा दुई देशबीचको व्यापार व्यवसायमा असर पुग्ने हिमालय सीमापार व्यापार संघका पूर्वअध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । 
 
बिहीबार बाढी पहिरो प्रभावितस्थल र पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोको बाह्रबिसे जम्बु पुगेका प्रतिनिधि सभाका सभामुख तथा सो क्षेत्रका जनप्रतिनिधि अग्निप्रसाद सापकोटाले अवरुद्ध राजमार्ग खुलाउन निर्देशन दिएका छन् । 
 
उनले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।