(अपडेट) म्याग्दी पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो, ३ जनाको जिवितै उद्धार

आषाढ २७,२०७७

-

असार २७, २०७७ काठमाडौं ।
 
अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । ३ जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले बताएको छ ।
 
धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो । जसमध्ये ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
 
घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।
 
घटनाको दुई दिन बित्दासम्म बाढी पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् ।