नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिकः ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने

श्रावण ०२,२०७७

-

साउन २,२०७७ काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गरेका छन्।
 
कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई जोगाउने लक्ष्यसहित मौद्रिक नीति आएको छ। यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई सम्बोधन गर्ने गरी नीति ल्याइएको गभर्नरले बताएका छन्।
 
त्यस्तै,मौद्रिक नीति अनुसार, उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।
 
आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति तर्जुमा गर्दै नेपाल राष्ट्र बैङ्कले बैंकहरुलाई २० प्रतिशत सम्म थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।
 
मौद्रिक नीति अनुसार, थप गरिएको २० प्रतिशत कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
 
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ।
 
केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५ प्रतिशतसम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याएको हो ।
 
यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा सहयोग पुग्‍ने लगानीकर्ताहरुले गरेका छन्।
 
नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई स्वेच्छिक गरेको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ।
 
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता संस्था मर्जरमा गए सीआरआर आधा प्रतिशत बिन्दु छुट दिइने भएको छ।
 
वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने भएको छ। संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ।
 
बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्‍ने सुविधा पनि दिइने छ। एउटै ब्यक्ति समूहबाट प्रवर्द्धित बैंकहरुलाई मर्जरमा लगिने भएको छ।