बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरिए, दुई जना बेपत्ता

श्रावण ११,२०७७

-

साउन ११, २०७७ काठमाडौं ।
बाग्लुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।
 
गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
 
स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ त ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।
 
‘पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।
 
पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।
 
आज बिहानैदेखि उद्धार जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए ।