पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार

श्रावण ११,२०७७

-

साउन ११,२०७७ काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरेको छ । कोषको कार्यकारी परिषद्बाट पारित गुरुयोजनामा पशुपतिनाथ मन्दिरको पश्चिमी ढोका भत्काउने, आर्यघाट हटाउने र ब्रह्मनाल सार्नेसम्मका योजना छन् । गुरुयोजनाले प्राचीनता मास्ने भन्दै संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् ।
 
परिषद्ले गत फागुनमा पारित गरेर गुरुयोजना मन्त्रिपरिषद्मा पठाएको थियो । दुई साताअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुँदा सम्पदाविज्ञहरूले गुरुयोजनामाथि आपत्ति जनाएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीयसँग छलफल गर्न कोषलाई निर्देशन दिएको थियो । गुरुयोजना कस्तो बन्दै छ भन्ने जानकारीसमेत नदिएर छलफल आयोजना गरिएको भन्दै स्थानीयले बहिष्कार गरेका थिए ।
 
‘पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परासँग सम्बन्धित स्थानीय, संघसंस्था तथा सरोकारवालालाई फेरि एकचोटि गुरुयोजनाका नाममा पशुपति क्षेत्र विकास कोषले आक्रोशित र चिन्तित बनाएको छ,’ कोषलाई विरोधपत्र बुझाउँदै स्थानीय आशमान संगतले भने, ‘कोषले सैद्धान्तिक रूपमा पास गरी मन्त्रिपरिषद्मा पठाएको गुरुयोजनामा हामी सरोकारवाला कसैको पनि राय, सुझाव वा धारणा सम्बोधन गरिएको छैन ।’ पशुपतिनाथ र यससँग सम्बन्धित मौलिक परम्परा, धर्म, संस्कृति, चाडपर्व र सम्पदा सबैलाई बेवास्ता गर्दै अत्याधुनिक भौतिक सम्पदा निर्माण र यससँग सम्बन्धित व्यापारिक चलखेललाई मात्रै प्राथमिकता दिएर गुरुयोजना बनाइएको विरोधपत्रमा उल्लेख छ ।
 
कोषले सरोकारवालाको सुझावकै आधारमा अघि बढ्ने जनाएको छ । ‘सरोकारवालालाई राखेर सहमतिमा अघि बढ्छौं,’ कोषका कार्यकारी अधिकृत घनश्याम खतिवडाले भने, ‘विगतमा केही गल्ती भए होलान् । संरक्षणका लागि गर्नुपर्ने धेरै छन्, हामी सरोकारवालालाई पर राख्दैनौं ।’
 
भू-उपयोगितासहितको सयवर्षे गुरुयोजनामा पशुपतिनाथको प्रांगण विस्तार गर्नेदेखि आर्यघाट हटाउनेसम्मका योजना छन् । पशुपति क्षेत्रलाई क, ख, ग र घ गरी चार भागमा विभाजन गरिएको छ । ‘क’ मा केन्द्रीय क्षेत्र राखिएको छ । यसमा पशुपतिनाथ र गुह्येश्वरी मन्दिर परिसर, झम्केश्वरी क्षेत्रलाई समेटिएको छ । भक्तजनको चापलाई ध्यान दिएर केन्द्रीय क्षेत्रमा परिसर विस्तार गरिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । हाल मन्दिर प्रवेश गर्ने पश्चिमी ढोका (गेट) भत्काएर प्रांगण विस्तार गरिने उल्लेख छ ।
 
कोषले २०१६ मा बनेको पश्चिम ढोकालाई पुरातात्त्विक मान्यताविपरीत रहेको भन्दै भत्काउन लागेको हो । गुरुयोजनामा भनिएको छ, ‘प्रांगणवरिपरिका संरचना हेर्दा विगत ४र५ दशकयता पुरातात्त्विक मान्यताविपरीत थुप्रै कार्य भएका छन् । कान्तिपुरमा खबर छ ।