रियल म्याड्रिडका खेलाडी मारियानोलाई कोरोना पोजेटिभ

श्रावण १४,२०७७

-

साउन १४, २०७७ काठमाडौं ।
रियल म्याड्रिडका स्ट्राइकर मारियानो कोभिड-१९ को परीक्षणमा पोजेटिभ पाइएको क्लबले मंगलबार जानकारी दिएको छ । क्लबले वक्तव्य जारी गर्दै २६ वर्षीय खलाडीको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमा नै आइसोलेसनको नियम पालना गरिरहेको जानकारी दिएको हो ।
 
मारियानोले सन् २०२० मा रियलका लागि सबै प्रतियोगितामा ७ वटा खेलमा प्रतिनिधित्व गरेका छन् । गत मार्चमा बार्सिलोनालाई २–० ले पराजित गर्ने क्रममा उनले गोल गरेका थिए जसको मद्दतले रियलले लिग उपाधि जित्न सफल भएको थियो ।
 
रियलले आगामी अगस्त ७ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीको समना गर्दैछ । युरोपियन फुटबलको नियामक निकाय युइएफएले यसबारेमा क्लबसँगको सम्पर्कमा रहेको र स्थितिको मूल्यांकन गरिरहेको जनाएको छ । यसले पूर्वनिर्धारित खेलमा असर नपुर्याउने युइएफएले आशा व्यक्त गरेको छ ।
 
 
सिटीले पनि पछिल्लो अवस्थाबारे अध्ययन गरिरहेको जानकारी दिएको छ । गत फेब्रुअरीमा खेलिएको पहिलो लेगमा सिटीले रियललाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको थियो । तर, दोस्रो लेगअघि नै कोरोनाभाइरसको महामारीका कारण प्रतियोगिता रोकिएको थियो ।