कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको उडान खुला गर्ने

श्रावण १४,२०७७

-

साउन १४, २०७७ काठमाडौं ।
कोरोना भाइरसको महामारीपछि हवाइ उडान बन्द गरेको कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने निर्णय गरेको छ ।
 
नागरिक उड्डयन निर्देशनालयका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्नेछन् ।
 
यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीले जानकारी दिएका छन् ।
 
एयरलाइन्सहरुको समय तालिका र उडान समय पनि यथाशक्य छिटो घोषणा गरिने जनाइएको छ । उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान गरिएको छ ।
 
कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाए पनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेतले उडान सूचारु गर्न लागेपछि सहज हुने अपेक्षा गरिएको छ । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ ।