नेटवर्किङ व्यवसाय गर्ने कम्पनीहरुको इजाजत रोक्न निर्देशन

श्रावण १५,२०७७

-

साउन १५,२०७७ काठमाडौं ।
प्रत्यक्ष वस्तु बिक्री तथा वितरणसम्बन्धी कारोबार गर्ने कम्पनीले इजाजतपत्र दिने काम तत्कालका लागि रोकिने भएको छ । 
 
संघीय संसदको उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले प्रत्यक्ष वस्तु वितरण गर्न भनेर अनुमति दिने काम तत्काल रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो ।
 
समितिले प्रत्यक्ष वस्तु बिक्री गर्ने भन्दै नेटवर्क मार्केटिङको काम भइरहेकामा आपत्ति जनाउँदै यसबारे अध्ययन गर्न उपसमिति पनि गठन गरेको छ । सोमप्रसाद पाण्डे संयोजक रहेको उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश रसाइली, अमृता अग्रहरि र सरिता गिरी छन् । 
 
उपसमितिले इजाजत पाएका कम्पनीसमेतको अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ । यसबीचमा इजाजत पाएकाले कारोबार गर्न पाउने छैनन् भने प्रक्रियामा रहेकाको इजाजत रोक्ने छन् । 
 
अध्ययन प्रतिवेदनले दिएको सुझावअनुसार समितिले अर्को निर्णय गर्नेछ । बिहीबार समितिमा भएको छलफलमा समितिका सबैजसो सदस्यले नेटवर्किङ रोक्नुपर्ने धारणा राखेका थिए ।