तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ डलर पुर्‍याइने लक्ष्य

श्रावण १५,२०७७

-

साउन १५,२०७७ काठमाडौं ।
 
सरकारले तीन वर्षमा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४ सय ५६ डलर पुर्‍याउने लक्ष्य लिएको छ । हालको १०९७ डलर भन्दा ३५९ डलर बढाउने सरकारले लक्ष्य लिएको हो ।
 
चालु आर्थिक वर्ष २०७७/७८ मा १,१८८ डलर, आव ७८/७९ मा १,३३७ डलर र ७९र८० मा १,४५६ डलर पुर्‍याउने राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचनाको लक्ष्य छ । 
 
अहिलेको एक डलर बराबर १२० रुपैयाँलाई आधार मान्ने हो भने १ लाख ७४ हजार ७ सय २० रुपैयाँ प्रतिव्यक्ति आय पुर्‍याउने सरकारी लक्ष्य रहेको छ ।  यस्तै आर्थिक जोखिम सूचकांक चालु आर्थिक वर्षमा २५  रहने र अर्कोवर्ष बढेर २६ पुग्ने र ७९/८० मा २३ मा झार्ने सरकारी लक्ष्य छ । 
 
 
यता तीन वर्षमाआर्थिक बृद्धिदर ९.६ प्रतिशत पुर्‍याउने लक्ष्य छ । यस्तै रेलमार्ग २६० किलोमिटर सम्म निर्माण गरिने, इन्टरनेटको पहुँच ७७ प्रतिशत पुर्‍याउने, विद्युत उत्पादन ४ हजार १ सय ३३ मेगावाट, प्रतिव्यक्ति विद्युत उपभोग प्रतिघण्टा ६ सय ५० किलोवाट पुर्‍याउने लक्ष्य छ  ।
 
 
वार्षिक बजेट र आवधिक योजना बीच तादम्यता ल्याउन महत्वपूर्ण औजारको रुपमा रहेको मध्यमकालीन खर्च संरचनामा आगामी आर्थिक वर्षको बजेट अनुमान र त्यसपछिका दुई आर्थिक वर्षको प्रक्षेपण गरि तीन वर्षको  चक्रिय बजेट प्रस्तुत गरिन्छ । 
 
नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५९/६० देखि मध्यमकालिन खर्च संरचनाको शुरुवात भएको थियो ।