वर्षातको समयमा पनि धरानवासीलाई खानेपानीको अभाव

श्रावण १६,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
सुनसरी धरान खानेपानी संघर्ष समितिले खानेपानी संस्थान शाखा कार्यालय धरानले नै स्थानियवासीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 
 
धरानवासीले विगत लामो समयदेखि खानेपानीको समस्या भोगिरहेको र सरकारले अहिलेसम्म यसबारेमा ठोस कदम नचालेको संघर्ष समितिको गुनासो छ । अहिले वर्षायाममा पनि धरानवासी खानेपाीको अभावमा बाँच्नुपरेको र ट्यांकरबाट पानी किनेर पिईरहेको वस्तुगत अवस्था समितिले सुनाएको छ । 
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो गुनासो पोखेको हो । समितिका सह-संयोजक रत्नमणि राईले खानेपानी संस्थान, धरानले नै आफूहरु धरानवासीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे । 
 
उनले पानीको समस्यालाई हल गर्नको निमित्त धरान उपमहानगरपालिकाले एडिबीको सहयोगमा एकीकृत शहरी विकास परियोजना सुरु गरेपनि उक्त परियोजना नै असफल भएको दाबी गरे । 
 
उनले भने,‘असफल भएको यो परियोजनासँग धरानवासीले विश्वास गर्दैनन् । यसले उल्टै धरानवासीहरुलाई झुक्याउने काम गरिरहेको छ ।’
 
उनकाअनुसार आईयुडिपीले धारा दिन्छु भनि पहिलो किस्ता दश हजार, दोस्रो किस्ता १२ हजार र तेस्रो किस्ता १५ हजार गरी धरानवासीहरुसँग उठाएको तर सोअनुसार धरानवासीले धारा र पानी दुवै पाएका छैनन् । 
 
उनले धरान खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानलाई गाभ्न नहुनेपनि माग गरे ।