कोरोनाको जोखिम देखाउँदै सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई रोक

श्रावण २१,२०७७

-

साउन २१,२०७७ काठमाडौं ।
 
मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा सर्वसाधारणको प्रवेश रोकिएको छ । सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ । 
 
कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको खतरालाई मध्यनजर गरेर सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि जारी गरिने पास तत्कालका लागि रोकिएको बताएका हुन् ।
 
भेटघाट र भीडभाड व्यवस्थित गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि सुरक्षा सावधानीका लागि यो निर्णय लिइएको हो, अधिकारीले भने । सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइन लागिएको उनले बताए ।
 
सिंहदरबारमा काम लिएर आउने सर्वसाधारण अहिले सिंहदरबार प्रवेश गर्ने ढोका बाहिर छन् । उनीहरूको लामो लाइन लागेको छ । उनीहरूलाई प्रहरीले भित्र जानबाट रोकेको हो ।
 
त्यस्तै, सिंहदरबार प्रवेश गर्न भनेर आएका सवारी साधनको लामो लाइन लागेको छ । माइतीघर र अनामनगरतिर सिंहदरबार प्रवेश गर्ने सवारी साधनको लामो लाइन लागेको छ ।