ओली-प्रचण्डको भेटवार्ताले नेकपा भित्रको अन्तरविरोधको गाँठो फुक्दै

श्रावण २९,२०७७

-

साउन २९, २०७७ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको संवादहिनता तोडिएको छ । उनीहरुबीच १० दिनमा बिहीबार भेटवार्ता भएपछि संवादहिनता तोडिएको हो । यसअघि गत मंगलबार ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
 
ओली प्रचण्डबीच बिहीबार बिहानैबाट बालुवाटारमा भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
 
दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो ।
 
यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।
 
पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।
 
अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।
 
पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल-नेपाल समूहको बहुमत छ ।
 
यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।