कोरोनाका बिरामी बढ्दै जाँदा जटिल अवस्थाका बिरामीलाई उपचारमा समस्या

श्रावण ३०,२०७७

-

साउन ३०,२०७७ काठमाडौं ।
कोभिड-१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ ।
 
अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।
 
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए । ‘हाम्रो यत्रो ठूलो अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिस्ट छन्, भेन्टिलेटर र आईसीयूमा सघाउन छात्रवृत्ति करारमा आएका एक जना आफैं कोरोना संक्रमित भएका छन् । क्रिटिकल केयरका लागि जनशक्ति छैन,’ उनले भने ।
 
उनका अनुसार कोभिड-१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् । ‘स्वास्थ्य संकटकाल घोषणा नगरी नहुने अवस्था छ,’ डा. उपाध्यायले भने ।
 
विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पाँचवटा भेन्टिलेटर रहे पनि त्यसलाई सञ्चालन गर्न उपयुक्त जनशक्ति नरहेको बताए । जनकपुर प्रादेशिक अस्पतालका कोभिड-१९ संयोजक डा. जामुन सिंहले संक्रमितलाई सघन उपचार सेवा दिन झन् बढी समस्या आउने बताए । डा. सिंहका अनुसार उक्त अस्पतालको जनरलतर्फका भेन्टिलेटर र आईसीयू सेवा कर्मचारी संक्रमित भएपछि प्रभावित भएको छ ।
 
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्माले आईसीयू शय्या र भेन्टिलेटर पर्याप्त नरहेको बताए । ‘जनकपुरदेखि पूर्वका बिरामी आउँछन् । यहाँको क्रिटिकल केयरको क्षमताले कोभिडका बिरामीलाई धान्न सकिँदैन,’ उनले भने । बीपीमा १५ वटा आईसीयू शय्या र १५ वटा भेन्टिलेटर छन् ।
 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीले कोरोनाका जटिल बिरामीको संख्या वृद्घि हुँदै गए चिकित्सा क्षेत्रका सामान्य स्नातकदेखि अन्य विषयका विज्ञलाई समेत सघन उपचारमा लगाउनुपर्ने अवस्था आउन सक्ने बताए । कान्तिपुरमा खबर छ ।