शुक्रबार रातिदेखि पानी पर्ने क्रम बढ्ने

श्रावण ३०,२०७७

-

साउन ३०, २०७७ काठमाडौं ।
शुक्रबार रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् ।
 
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्दा नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
 
उहाँका अनुसार अहिले देशका केही ठाउँको मौसम खुलेको भए पनि प्रदेश १, वाग्मती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । अहिले खुलेको ठाउँको मौसम पनि बिस्तारै बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
 
वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । यस्तै राति प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् अर्यालले बताउनुभयो । 
 
उहाँका अनुसार आजको भन्दा भोलि देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ । केही दिनयता कम पानी पर्दा गर्मी भने बढेको छ । काठमाण्डौमा हिजोको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । 
 
अस्ति २९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम हिजो दुई डिग्रीले बढेको हो । यसैबीच कास्कीको लुम्ले ठूलो पानी परेको र अझै पानी परिरहेकाले एक्कासी बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।