पाल्पामा पीसीआर मेसिन जडानका लागि रकम निकासा

भाद्र ०८,२०७७

-

भदौ ८,२०७७काठमाडौं ।
पाल्पामा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ । जिल्ला अस्पताल पाल्पामा मेसिन खरिदका लागि संघीय सरकारले रकम पठाएको हो ।
 
कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड रुपैयाँ निकासा भएको छ । जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताए ।
 
मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउँछन् । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।
 
जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो ।
 
अब भने जिल्लामै पीसीआर परीक्षण हुने भएपछि छिट्टै नतिजा थाहा पाउन सकिन्छ । यहाँ पीसीआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ । रासस