कोरोना रोकथमका लागि प्रदेश ५ सरकारद्धारा झण्डै ४ करोड बजेट स्वीकृत

भाद्र १८,२०७७

-

भदौं १८, २०७७ काठमाडौं ।
प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
 
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाकालागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो ।
 
 
वैठकले लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । यो अस्पतालमा आईसीयू बेड १८, एचडी (मिनी आईसीयू) बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड रहनेछ ।
 
त्यस्तै भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति स्वीकृत गरिएको छ । भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहनेछ ।
 
यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । यो अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछ ।
 
मन्त्रिपरिषदले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ वजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद बेलझुण्डीका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।