बिहीबारदेखि खुल्ने भए व्यापार/व्यवसाय, यातायातमा जोरबिजोर लागू

भाद्र २४,२०७७

-

भदौं  २४, २०७७ काठमाडौं ।
 
उपत्यकामा भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा बिहीबारदेखि खुल्ने भएको छ ।
 
काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ ।
 
अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए ।
 
उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।
 
स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
 
यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।
 
यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
 
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।
 
तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।
 
उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।