अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स पाईने

भाद्र २५,२०७७

-

भाद्र २५,२०७७ काठमाडौं ।
यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने बताएको हो ।
 
आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको दुई वर्षसम्म लाइसेन्स नपाउने समस्या भोग्नुपर्ने अवस्था थियो ।
 
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो-‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।’
 
उहाँका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको विभागले बताएको छ । जसअन्तर्गत वैदेशिक रोजगारी जाने र अन्य कारणले गर्दा अब पाँच लाख लाइसेन्स मात्र स्मार्ट बनाउन बाँकी रहेको छ । ती लाइसेन्सलाई पनि स्मार्ट बनाउने प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
 
विभागले केही समयअगाडि खरिद गरेको मास प्रिन्टरले दैनिक करिब सात हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।