सवारी साधनमा इम्बोस्ड नम्बर नेपाली नै कायम राख्न यातायात मन्त्रीलाई ध्यानाकर्षण

भाद्र २९,२०७७

-

भदौं २९, २०७७ काठमाडौं ।
सरकारले २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएकामा नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालीमा नै राख्न ध्यानकर्षण गराएको छ ।
 
कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीलाई भेटी सवारी साधनमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको र प्रधानमन्त्रीले समेत देवनागरी लिपिलाई नै इम्बोस्ड नम्बरमा प्रयोग गर्न आफूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभएको उल्लेख गर्दै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कार्यान्वयनका निम्ति ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।
 
ध्यानाकर्षण गराउनुहुँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं। प्लेट राख्ने निर्णय हुनु उचित नभएको बेहोरा जानकारी गराउनुभएको थियो ।