कोभिड-१९ को ‘हटस्पट’ बन्यो काठमाडौं महानगर

भाद्र ३०,२०७७

-

भदौं ३०,२०७७ काठमाडौं।
कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं महानगरभित्र हालसम्म ४१ जनाको मुत्यु भएको छ । दैनिक करिब ३ सयको संख्यामा संक्रमित थपिँदै जाँदा महानगरभित्र आइसोलेसनको समस्या बढ्दै गएको छ ।
 
कामपा जनस्वास्थ्य विभागको तथ्यांकअनुसार हालसम्म झन्डै ५ हजार ५ सय जना संक्रमित रहेका छन् । कामपा कोभिड-१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले हिजो सोमबारसम्म ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले काठमाडौंको तथ्यांक बढी देखिए पनि कामपाभित्रको कोभिड-१९ बाट मर्नेको संख्या ४१ जना मात्र रहेको बताउनुभयो ।
 
काठमाडौंमा करिब ६० जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य शाखा काठमाडौंले महानगरपालिकाको तथ्यांक एक दिनपछि मात्र उपलब्ध गराउने भएकाले महानगरभित्र मर्र्ने र संक्रमितको संख्या बढी देखिएको हो ।
 
तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा देखिएको छ । सो वडामा ४ सय ७७ संक्रमित छन् । त्यस्तै दोस्रोमा ठेगाना नखुलेकामा देखिएको छ । उनीहरुको संख्या ४ सय ५७ रहेको छ । तेस्रोमा १६ नम्बर वडामा संक्रमित देखिएका छन् । सो वडामा ३ सय ८७ संक्रमित छन् ।
 
नखुलेका संक्रमितहरुका विषयमा कामपाले मन्त्रालयमा जानकारी गराएको सम्पर्क अधिकृत ओलीले बताउनुभयो । कतिको फोन नम्बर नमिलेको त कतिले स्विच अफ गरेका कारण उनीहरुलाई सम्पर्क गर्न समस्या भएको उहाँको भनाइ छ । त्यस्ताको विषयमा मन्त्रालयलमा जानकारी गराउने गरेको उहाँले बताउनुभयो ।
 
कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कँुवरले कोरोना संक्रमणको संख्या बढ्दै गएपछि कन्ट्र्याक्ट ट्रेसिङ र आरटी पीसीआर गर्नेको संख्या पनि त्यतिकै संख्यामा बढाइएको जानकारी दिनुभयो ।
 
हालसम्म झन्डै १२ हजारको संख्यामा आरटी पीसीआर गरिसकेको छ । २८ गतेसम्मको तथ्यांकलाई आधार मान्दा वडा नम्बर १३ मा सबैभन्दा बढी पीसीआर गरिएको छ । सो वडामा १ हजार ३ सय ६३ जनाको आरटी पीसीआर गरिएको छ ।
 
त्यसपछि सोह्रखुट्टे क्षेत्रको १६, स्वयम्भूको १५ र कलंकी क्षेत्रको १४ रहेका छन् । १३ मा १ हजार ३ सय ६३, १६ मा ८ सय ७५, १५ मा ८ सय १६ र १४ मा ७ सय १९ रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।