पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा सकिने

भाद्र ३१,२०७७

-

भदौं ३१,२०७७ काठमाडौं ।
 
सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड-१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो ।
 
विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो जानकारी गराउनुभएको हो ।
 
उहाँले भन्नुभयो-‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा वैशाखदेखि शैक्षिकसत्र शुरु भइसकेको छ ।’ चैत महिनादेखि लकडाउन भएपछि पढाइ ठप्प भएको थियो । असारमा अनलाइन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिकरुपमा पढाइ शुरु गरेका थिए ।
 
सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको अवस्थामा सरकारले वैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ ।
 
मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले मंगलबार समायोजन ढाँचा सार्वजनिक गरेपछि औपचारिकरुपमा पठनपाठन शुरु हुने निश्चित भएको छ ।
 
शिक्षा सचिव डा. सञ्जय शर्माले कार्यढाँचा तयार गरेर सार्वजनिक गर्नुअघि परिषद्ले समायोजन ढाँचा सार्वजनिक गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।