खर्च तिर्न नसकेर दुई महिनादेखी अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

भाद्र ३१,२०७७

-

भदौ ३१,२०७७ काठमाडौं ।
उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् ।
 
गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि बन्धक रहेका थिए ।
 
उनीहरुलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरे पनि कर्मचारीहरुले फाइलमाथि फाइल खडा गर्दै रकम निकाशामा ढिलासुस्ती गर्दै आएको पाइएको छ ।
 
महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए । सदा दम्पत्ति घरतिर लागेको तस्बिर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको विषय उठान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
 
घटनाको बारेमा जानकारी पाएपछि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले समेत गम्भीर चासो दिएका थिए ।
 
भट्टराई लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उठाएको मुद्दालाई सम्बोधन गर्दै प्रदेश २ का महान्यायाधिवक्ता झाले लेखे, ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत विहिवार नै गरेको थियो । प्रकृयामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु ।’
 
उनी सामाजिक सञ्जालमा लेखेर मात्रै बसेनन् । तत्कालै गोल्डेन हस्पतालका सञ्चालक मध्येका एक सनातन मण्डललाई फोन गरे र प्रदेश सरकार जवानी बसेकोले मुक्त गरिदिन आग्रह गरे भने आवश्यक पहल पनि गरे । 
 
दोहोरो(तेहेरो अन्यायमा परेका दलित दम्पत्ति सप्तरीको महुलीका स्थानीय बासिन्दा हुन् । उनीहरूलाई कुट्ने तारेखमा छुटिसकेका छन् तर, कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनाइएका हुन् । घाउचोटको उपचारको पैसा तिर्न नसकेपछि अस्पतालले बन्धक बनाउँदै आएको थियो ।
 
उनीहरुले दुई महिनासम्म अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाउँदै आएका थिए ।