कोरोना भाइरस सक्रमित तीन करोड नाघे, स्थिति गम्भीर हुदै गएको उल्लेख

आश्विन ०२,२०७७

-

असोज २, २०७७ काठमाडौं ।
कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीन करोड नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
 
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको तथ्याङ्कले देखाउँछ।
 
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ।
 
हालसम्म त्यहाँ ६६,६९,३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १,९७,५८९ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ।
 
दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।
 
मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ।
 
ब्राजिलमा १,३४,१०६ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३,१९८ जनाको मृत्यु भएको छ।
 
रुस १०,८१,१५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,४४,४०० व्यक्ति सङ्क्रमित छन्।
 
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ।बिबिसीमा खबर छ ।