गणेशमान सिंहको २३औँ स्मृति दिवस :

नेकपा सरकार केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको सिंहको आरोप

आश्विन ०२,२०७७

-

असोज २, २०७७ काठमाडौं ।
 
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाएका छन् । 
 
सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा अवसरमा बोल्दै नेता सिंहले दुई तिहाई बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाएका हुन् । संविधान कार्यान्वयनको चरणमा भए पनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरी अगाडि बढिरहेको उनले बताए ।
 
संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भए पनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्‍याइरहेको नेता सिंहले बताए । 
 
जनता कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । महामारीका बेला गुर्नपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।
 
२०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसकै अवसरमा नेता प्रकाशमान सिहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गरेका छन् ।
 
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।