नेपालमा कोरोनाको स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने विज्ञहरुको चेतावनी

आश्विन ०२,२०७७

-

असोज २, २०७७ काठमाडौं ।
शुक्रबार देशभरि अहिलेसम्मकै उच्च संख्यामा एकैदिन २०२० जना कोरोना संक्रमित थएिका छन् । त्यसैगरी उपत्यकामा पनि ८५९ को संख्यामा संक्रमित थपिएका हुन् । हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ६१ हजार नाघिसकेको छ ।
 
संक्रमण कम गर्न सरकारले लकडाउन तथा निषेधाज्ञा गरेको थियो तर, संक्रमितको संख्यामा कमी आएको छैन । मानिसको गतिविधि तथा चहलपहल बढेसँगै संक्रमणको अवस्था अझै भयावह त हुने होइन भन्ने प्रश्नहरु खडा भएका छन् । विज्ञहरुका अनुसार सर्तकता नअपनाए स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ ।
 
जनस्वास्थ्य विज्ञ डा. शरद वन्त भन्छन्, अहिले सबै क्षेत्र खोलिएसँगै हामी संक्रमणको जोखिमबाट टाढा भयौं भन्ने पटक्कै होइन । हिजोभन्दा झन् संक्रमण बढी भइरहेको देखिन्छ । पहिला जस्तै सबै सामान्य छ भनेर त्यस्तो व्यवहार हामी चाहेर पनि गर्न मिल्दैन । हिजोको जस्तो जिन्दगी छैन । पसल, कार्यालय जुनसुकै ठाउँमा पनि सावधानी अपनाउनु जरुरी छ ।’
 
डा. वन्तका अनुसार संक्रमण रोक्न नागरिकको झन् दायित्व हुने हुन्छ । ‘दूरी कायम गर्ने, मास्क लगाउने त अनिवार्य रुपमा कडा पालना गर्नुपर्छ । लकडाउनमात्र समस्याको समाधान हुन सक्दैन भनेर त्यही अनुसार जिन्दगी अघि बढाउनुपर्छ । अझैपनि सावधानी अपनाएनौं भने तेस्रो चरणको बन्दाबन्दीको सामना गर्नुपर्ने हुनसक्छ । चाडपर्व आउँदैछन् । झन् भयावह स्थिति नआउला भन्न सकिन्न,’ उनले भने ।
 
त्यसैगरी मलिक्यूलर वैज्ञानिक डा. समिरमणि दिक्षितले काठमाडौं बाहिर वा जिल्ला ओहोरदोहोर गर्दा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार कोरोना संक्रमणबाट बच्न सबैभन्दा ठूलो हतियार भनेको मास्क नै हो । 
 
उनी भन्छन्, ‘सक्नेले जुन–जुन जिल्लामा जानुहुन्छ ४=५ दिनपछि पीसीआर परीक्षण गराउँदा उपयुक्त हुन्छ । त्यसैगरी गाउँ पुग्दा पनि वृद्धवृद्धा तथा बालबालिका नजिक नपर्ने र कम्तीमा पनि हप्ता १० दिनसम्म छुट्टै बस्नुपर्छ ।’
 
 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले संक्रमण बढिरहेको अवस्थामा सतर्क हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘खासमा सम्भव भएसम्म त पीसीआर चेक गरेर ओहोरदोहोर गर्दा राम्रो, आफैं पनि ढुक्क भइन्छ तर, यो त्यति सम्भव नहोला । पीसीआरको मूल्य अझै घट्यो भने सजिलो हुन्छ । बाटोबाटोमा हेल्थ बुथ बनाएर स्वास्थ्यकर्मीको टोलीले ज्वरो नाप्नुपर्छ । दक्षिण कोरियाको अप्रोच अपनाइनुपर्छ । सबैको परीक्षण गरिनुपर्छ ।’
 
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले योजनाविहीन रुपमा सरकार गइरहेको बताउँछन् । ‘आजभन्दा दुईहप्तापछि के हुन्छ भनेर पनि नसोचेर काम गरिरहेको छ सरकार । यसरी गैरजिम्मेवार तरिकाले महामारी नियन्त्रण हुँदैन । तथ्यांक र विज्ञानलाई पछ्याएर काम गर्नुपर्छ । यस्तै अवस्था रह्यो भने नजिकिँदै गरेको चाडपर्व पनि मनाउन पाइँदैन होला,’ उनले भने ।
 
उनले सरकारले योजनाबद्ध रुपमा हृवात्तै लकडाउन नखोलिकन बिस्तारै कसरी खोल्न सकिन्छ भनेर सोचेर जानुपर्ने बताउँछन् । ‘परीक्षणको दायरा कमै राख्ने, कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने अनि संक्रमणको जोखिम बढी नै रहन्छ । जो खानै पााएका छैनन् । समस्यामा परेका छन् उनीहरुलाई कसरी के गर्दा राहत हुन्छ त्यही अनुसार सोच्नुपर्‍यो,’ उनले भने ।
 
समुदायमा संक्रमण गइसकेको र यो स्थिति अझै भयावह हुन सक्ने बताउँछन् संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी । उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा समुदायमा संक्रमण गइसक्यो, स्थिति नियन्त्रणभन्दा बाहिर गइसक्यो । व्यापक महामारी देखिने पक्का छ । उपत्यकाबाहिर जाने मानिसहरु गाउँगाउँमा जाँदा त्यहाँ पनि संक्रमण धेरै फैलिन्छ ।’
 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जबसम्म सर्वसाधारणले आफ्नो बानी परिवर्तन नगरेसम्म कोरोना संक्रमणको जोखिम नघट्ने बताउँछन् ।