अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा सरकार

आश्विन ०४,२०७७

-

असोज ४,२०७७ काठमाडौं ।
 
कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ ।
 
लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ ।
 
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले युवा स्वयंसेवक छनोट गर्ने, स्वास्थ्य मन्त्रालयले परिचालन गर्नुअघि तालिम दिने जिम्मेवारी तोकेको छ ।
 
छनोटमा परेका युवा स्वयंसेवकलाई काठमाडौं र ललितपुरसहित उपत्यकाका १८ स्थानीय तहको छनोट गरेका भीडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ ।
 
परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि युवा परिचालन गर्न लागेको जानकारी दिनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।