आईपीएलः मुम्बईलाई ५ विकेटले हराउँदै चेन्नाईको जित

आश्विन ०४,२०७७

-

असोज ४,२०७७ काठमाडौं ।
आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ ।
 
अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गर्यो ।
 
चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए । अम्बाती रायडु प्लेयर अफ दी म्याच भए ।
 
मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भए ।
 
चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए ।
 
महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको शुरुवात खराब थियो । शेन वाटसन पहिलो ओभरमै चार रन बनाएर आउट भएका थिए । यस्तै मुरली विजयले एक रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रनमात्र थियो ।
 
तर अम्बाती रायडु र डु प्लेसिसको साझेदारीले चेन्नाईलाई जित दिलायो । उनीहरुले १४ ओभरमा ११५ रनको साझेदारी गरे । यस क्रममा मुम्बईका जसप्रित बुमराह महँगा सावित भए । उनले चार ओभरमा ४३ रन दिएका थिए ।