राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउन सबैको सामूहिक दायित्व जरुरीः प्रधानमन्त्री

आश्विन ०६,२०७७

-

आश्विन ६, २०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् ।
 
राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई रेकर्डेड ‘भिडियो’मार्फत सम्बोधन गर्दै उनले उक्त विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताए । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले बताए ।
 
शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसंघबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापनाका कार्यमा ६ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको बताए ।
 
नेपालको विकास प्रक्रियामा राष्ट्रसंघ प्रमुख साझेदार रहेको बताउँदै उनले भने, हामी मानवअधिकारको रक्षा र प्रवर्द्धनका लागि सकारात्मक रूपमा योगदान गरिरहेका छौँ, सबै मानवअधिकार समान हुन् भन्ने हाम्रो मान्यता छ, तिनलाई समग्रतामा व्यवहार गर्नुपर्छ ।
 
एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्यमान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याए । सामयिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ निकाय बनाउनुपर्छ,उनले भने ।
 
निर्धनतम देश र तिनका जनताको रक्षा, सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवर्द्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट, आतङ्कवादको अन्त्य, आणविक, रासायनिक, जैविकलगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसंघको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीले बताए ।
 
‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घः बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा आयोजित उक्त बैठकको प्रारम्भमा राष्ट्रसंघको ७५औँ वार्षिकोत्सवसम्बन्धी घोषणापत्र अनुमोदन गरिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
 
वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १८२ वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ । रासस