कैदीलाई जेलमा नराखी पैसा लिएर छोड्न सरकारलाई सर्वोच्चको निर्देशन

आश्विन ०७,२०७७

-

असोज ७, २०७७ काठमाडौं ।
कारागारमा रहेका कैदीरबन्दीलाई रोगको संक्रमणबाट बचाउने जिम्मेवारी राज्यको हुने उल्लेख गर्दै सर्वोच्चले त्यसबाट जोगिन कानूनमा भएको व्यवस्थाबमोजिम रकम लिएर थुनामुक्त गर्नुपर्ने स्पष्ट गरेको छ ।
 
न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजालसले कैदीहरुलाई कानूनमा भएको व्यवस्थाबमोजिम कैद वापत रकम लिएर थुना मुक्त गर्नुपर्ने स्पष्ट गरेको हो ।
 
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा दिनको ३ सय रुपियाँका दरले रकम तिरेर कैदी थुना मुक्त हुनसक्ने प्रावधान रहेको छ । सो दफामा पहिलो पटक अपराध गरेको, एक वर्षभन्दा कम कैद सजाय भएको व्यक्ति दिनको ३ सय रुपियाँ तिरेर कारागारबाहिर बस्नसक्ने ब्यवस्था छ ।
 
कीर्ते मुद्दामा कसूरदार ठहरी एक वर्ष कैद र ५० रुपियाँ जरिवाना भएका हाल कारागार कार्यालय, स्याङ्जामा रहेका विमल खनालले आफूलाई लागेको कैदको सट्टा दिनको ३ सय रुपियाँ तिरेर निस्कन स्याङ्जा जिल्ला अदालतमा निवेदन दिएका थिए ।
 
सो अदालतले माग बमोजिम गर्न अस्वीकार गरेको थियो । उच्च अदालत, पोखरा बाग्लुङ इजलासले पनि त्यसलाई सदर गरेको थियो ।