ट्रेड युनियनको निर्वाचन सुचारु गर्न माग

आश्विन ०७,२०७७

-

असोज ७, २०७७ काठमाडौं ।
 
विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) को गम्भीर आपत्ति जनाएको छ ।
 
संघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन स्थगित् गरिएकोमा आपत्ति जनाएको हो । उसले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ । 
 
कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।
 
उनले भने,‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो । तर, सरकारले एकाएक कसैसँगपनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय गर्यो । 
 
यो लोकतन्त्रमाथिको धावा हो ।’ उनले निर्वाचन स्थगित् गरेको विषयलाई संविधानको भावना र कानूनविपरित भएको पनि टिप्पणी गरे । 
 
उनले निर्वाचन स्थगित् गरिएकोमा आफुहरुको घोर आपत्ति रहेको पनि बताए । उनले भने,‘कोरोनाको कहरकै बीचमा निर्वाचनको मिति तय गरिएको हो, निर्वाचन नगर्ने हो भने किन चुनावको मिति तोकियो त ? हामी प्रजातन्त्रवादी हौं । चुनावको पक्षमा थियौं । चुनावबाट भाग्नु भनेको लोकतन्त्रविरोधी कदम हो ।’
 
उनले आफूहरु ट्रेड युनियनको अधिकार रक्षा हुनुपर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘सरकारले एक्कासी निर्वाचन स्थगित् गरेर गम्भीर त्रुटी गरेको छ । सत्तारुढनिकट ट्रेड युनियन संगठनहरुबीच एकता भएको छैन् ।
 
उहाँहरुको आन्तरिक लडाई हो । उहाँहरुले हार्ने निश्चित भएपछि सरकारलाई ब्रिफिङ गरेर चुनाव स्थगित गरिएको हो ।’ उनले सरकारी संयन्त्र प्रयोग गरेर (गुप्तचर र सिडिओहरुमार्फत) चुनाव हार्ने देखेपछि पार्टीलाई कन्भिन्स गराएर नेकपानिकट संगठनहरुले चुनाव स्थगित गराउन लगाएको पनि आरोप लगाए । 
 
अध्यक्ष पोखरेलले चुनाव स्थगित गर्नुको दुई आरोप लगाए । उनले भने,‘उहाँहरुको दुई संगठन हुन नसक्नु र अर्को भनेको आफू पराजित हुने डर नै हो ।’ सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडान नमिल्ने उनको भनाई छ ।