पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

आश्विन ०७,२०७७

-

असोज ७, २०७७ काठमाडौं ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनःलकडाउन गर्न सिफारिस गरेको छ ।
 
बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
 
सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको पनि प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।
 
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । त्यस्तै बुधबार दिउँसोसम्म नेपालका संक्रमण पुष्टि भएकामध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् ।
 
त्यस्तै, कोरोनाबाट अहिलेसम्म ४ सय ३६ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६७ हजार ८ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।