किट अभावमा बीपी प्रतिष्ठानमा तीन दिनदेखि पीसीआर परीक्षण बन्द

आश्विन ०८,२०७७

-

असोज ८, २०७७ काठमाडौं ।
कोरोना भाइरस संक्रमण परीक्षण किट अभावका कारण प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार र प्रदेश सरकारले पीसीआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएका कारण प्रतिष्ठानमा गरिँदै आएको पीसीआर परीक्षण तीन दिनदेखि बन्द भएको छ । 
 
पीसीआर परीक्षण नहुँदा प्रतिष्ठानमा उपचाररत बिरामीको शल्यक्रिया समेत रोकिएको छ । सिकिस्त बिरामीको शल्यक्रिया रोकिएपछि बिरामीको ज्यान जोखिममा परेको भन्दै पीडितले तत्काल पीसीआर परीक्षण गर्न र शल्यक्रिया सेवा सुचारु गर्न सरकारसँग माग गरेका छन् । 
 
प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी , प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको छ । प्रतिष्ठानमा पीसीआर परीक्षण रोकिएपछि दुर्घटनामा परेका र इमेरजेन्सी शल्यक्रिया गर्नुपर्ने बिरामी बढी जोखिममा परेका छन् । 
 
प्रतिष्ठानमा भर्ना भएका सयौं बिरामीको पीसीआर परीक्षण नभएका कारण शल्यक्रिया हुन नसकेको प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. पसुपती चौधरीले बताए । उनले शल्यक्रिया गर्न प्रतिष्ठान भर्ना भएका बिरामीको अनिवार्य पीसीआर रिपोर्टलाई अनिवार्य गरेको बताए । 
 
डा. चौधरीले पीसीआर परीक्षण नभएकै कारण प्रतिष्ठानको हाडजोर्नी विभाग र आकस्मिक कक्षमा भर्ना भएका दर्जनौं बिरामीको शल्यक्रिया रोकिएको जानकारी दिए ।