एसिड छ्याप्नेलाई २० वर्ष कैद सजाय हुने गरी अध्यादेश पारित

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ ।
 
एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।
 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने जानकारी दिइन् । 
 
‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको पनि उनले बताईन, अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुने छ ।
मुलुकी अपराध संहिता ऐन-२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 
 
त्यस्तै एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुन सक्ने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो ।
 
नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ । साउन पहिलो साता काठमाडौंका बाफलमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरिएपछि अभियुक्तविरुद्ध कडा कानुनी कारबाही हुनुपर्ने माग उठेको थियो ।