प्रदेश ५ मा चाडपर्वका बेला भारत आवतजावतमा रोक

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ सरकारले चाडपर्वको समयमा नेपाल र भारतबीच हुने छोटो अवधिको आवत जावतमा रोक लगाउने निर्णय गरेको छ ।
 
प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।
 
मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको केन्द्रको वैठकले नेपाल र भारत बीचका तोकिएका सीमा नाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल प्रवेशको व्यवस्था गर्ने निर्णय गरेको छ ।
 
भारतबाट आफ्नो घर जानका लागि आउने नेपाली र भारत जाने भारतीयलाई भने रोकावट हुने छैन । भारतमा तीब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण चाडबाडको समयमा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीहरुलाई रोक्नका लागि कोरोना संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो ।
 
लक्षण देखिएका र स्वास्थ्य समस्या भएका कोरोना संक्रमित बढेपछि उनीहरुको उपचारका लागि बुटवल र दाङमा अक्सिजन थेरापी तत्काल शुरु गर्ने निर्णय पनि वैठकले गरेको छ ।
 
बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा २० वटा र दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा १७ वटा एचडीयू ९ हाई डेफिसेन्सी युनिट० तत्काल शुरु गर्ने निर्णय भएको हो ।
 
ती अस्पतालमा हालको पूर्वाधार संक्रमितको उपचार गर्न अपुग र अपर्याप्त रहेकाले पहिलो चरणमा दुई वटा कोरोना अस्पतालबाट अक्सिजन थेरापी सुरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।