पहिरोले अर्घाखाँचीको शीतगंगामा १७ घर बगायो, ठूलो क्षति

आश्विन ०९,२०७७

-

 असोज ९,२०७७ काठमाडौं ।
 
अर्घाखाँचीको शीतगंगा नगरपालिका-१२ मा पहिरो जाँदा १७ घर बगाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा १७ घर बगाएको हो ।
 
तीन दिनको अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । पहिरोले मानवीय क्षति भए–नभएको यकीन भएको छैन । भिरालोमा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म बगाउँदा नगद, जिन्सी, अन्नपात, पशु चौपाया गरेर एक करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
 
गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए । घटनास्थलमा पुगेर प्रहरी र स्थानीय बासिन्दाले विस्थापित परिवारको उद्धार थालेको छ ।
 
घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीको टोली पुगेको छ । ‘पहिरो बगिरहेकाले क्षतिको बारेमा भन्न सकिन्न तर ठूलो क्षति भएको अनुमान छ’, घटनास्थलमा पुगेका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । थप जानकारी आउन बाँकी छ...