कर्मचारीले बाङ्गोटिङ्गो गर्न खोजे सम्बन्ध नमिठो हुने सञ्चारमन्त्रीको चेतावनी

आश्विन २९,२०७७

-

असोज २९, २०७७ काठमाडौं ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् ।
 
समृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारालाई व्यवहारमा ल्याउन र अहिलेको विश्वव्यापी महामारीकोरुपमा रहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण भन्दै मन्त्री गुरुङले त्यसका लागि सही सूचना आवश्यक पर्ने बताए ।
 
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । बुधबार सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका उनले भनेका छन्, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’
 
गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने उनको चेतावनी छ । नवनियुक्तमन्त्री गुरुङले भने भने, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’
सञ्चार क्षेत्रमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
 
प्रधानमन्त्रीले चुनौतीपूर्ण जिम्मेवारी दिँदैछु भनेको र त्यो चुनौती सामना गर्न आफू सक्षम छु भन्ने विश्वासका साथ आएको उनले बताए । आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने बताए ।