मानव अधिकार उल्लङ्घन गर्ने २८६ जनालाई कारवाही नै हुन सकेन, आयोगद्धारा नाम सार्वजनिक

आश्विन ३०,२०७७

-

असोज ३०,२०७७ काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरेका दुई सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो ।
 
यसरी मानव अधिकार उल्लङ्घन गर्नेमध्ये नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ जना प्रहरी, आठ जना सशस्त्र प्रहरी, ८५ जना सेना, ६५ जना माओवादीका नेता तथा कार्यकर्ता, चार जना शिक्षक, दुई जना डाक्टर, सात जना कैदी र एक जना मानवअधिकारकर्मी नै रहेका छन् ।
 
यीमध्ये ३० जनालाई कारबाही भए पनि दुई सय ५६ जनालाई कारबाही नभएको आयोगले जनाएको छ । आयोगले बिहीबार प्रकाशन गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वसँग सम्बन्धित नौ सय ४० वटा र अन्य दुई सय ५५ वटा सिफारिस रहेका छन् ।
 
आयोगका एक सय ६३ वटा पूर्ण कार्यान्वयन भएका, चार सय ४५ वटा आंशिक कार्यान्वयन भएका र पाँच सय ८७ सिफारिस अझै कार्यान्वयन भएका छैनन् । आयोगका सिफारिस कार्यान्वयनको लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम लगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ ।
 
पीडितको जीवन स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई आर्थिक लेनदेनमार्फत टुङ्ग्याउँदा दण्डहीनता बढेको प्रतिवेदनमा उल्लेख छ ।