स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न उपभोक्ताहरुलाई महानगरको आग्रह

कार्तिक ०१,२०७७

-

कात्तिक १,२०७७ काठमाडौं ।
 काठमाडौं महानगरपालिकाले स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
 
महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी.बोका छुट्याइएकोले चिनेरमात्रै खरिद गर्न आग्रह गर्नुभएको हो ।
 
स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा.झाले बताउनुभयो ।
 
उपभोक्ताले हरियो रङ लगाइएको खसी-बोका र च्यांग्रामात्रै खरिद गर्नुपर्ने उहाँले बताउनुभयो ।
 
उपत्यकाका मुख्य खसी-बोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसी-बोका र च्यांग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाइ छुट्ट्याएको छ ।
 
पशुको तापक्रम नाप्ने, नाकबाट सिँगान बगेरनबगेको, पखला लागेरनलागेको, झोक्राएर बसेरनबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्ट्याउने गरिएको छ ।
 
चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उहाँले बताउनुभयो ।
 
दसैंको बेला काठमाडौंका खसी-बोका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखिसमेत खसी-बोका र च्यांग्रा ल्याइ बिक्री-वितरण सुरु भइसकेको छ ।
 
यस्तो अवस्थामा अस्वस्थ पशुको बिक्री-वितरण हुनसक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्ट्याइ स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।