इटालीमा फेरि बढ्यो कोरोना संक्रमण

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा भएको छ। मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् ।
 
मेयरहरुलाई आफ्नो शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।
 
इटालीमा पछिल्ला दिनहरुमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार एकै दिन ११ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसअघि शनिबार १० हजार ९२५ जनामा संक्रमण पुष्टि भएको थियो ।
 
कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।
 
युरोपका विभिन्न देशमा पनि अहिले संक्रमण पुनः बढ्न थालेको छ । इटालीमा अहिलेसम्म चार लाख १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ३६ हजार पाँच सयजनाको ज्यान गएको छ ।
 
प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत आइतबार बेलुका गरेको सम्बोधनमा अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि समय खेर नफाली सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको बताए ।
 
सरकारले सक्दो प्रयास गरिरहेको र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनले बताएका छन् ।