अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
 
अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी परेका छन् ।
 
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । 
 
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरुद्धमा परेका ४ उजुरी खोलेको हो ।
 
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका छन् ।
 
राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका हुन् ।
 
उनीविरुद्ध परेको उजुरीबारे स्रोतले भन्यो, उहाँविरुद्ध क्यापिटल मर्चेन्ट बैंकसँग जोडेर पनि उजुरी परेको छ । पीएमार्फत् घोटाला गरेको विषय पनि छ । त्यस्तै, पटकपटक पदमा जाने अवसर पाउँदा अधिकार दुरुपयोग गरेको, अवसरभन्दा न्यून रूपमा कार्यसम्पादन भएको र नीतिगत भ्रष्टाचार गरेको आरोपसहितका उजुरी आएका छन् ।
 
खतिवडाविरुद्ध परेका उजुरीमा राष्ट्र बैंकको गभर्नरदेखि योजना आयोगको नेतृत्वमा रहँदासम्मका विषय जोडिएका बताइएको छ । त्यस्तै, टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलसँगको कर विवादसँग जोडेर पनि उनीविरुद्ध उजुरी परेको छ ।