युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

कार्तिक ०४,२०७७

-

कात्तिक ४,२०७७ काठमाडौं।
 के जाडो याममा कोरोनाभाइरसको अझ भयानक रुप झेल्नुपर्ला रु के विश्वले कोरोनाभाइरसको दोस्रो लहरको सामना गर्नुपर्ला रु कोरोनाभाइरसको खोप कहिलेसम्म आउँछ र खोप आएको अवस्थामा पनि कति मानिसका लागि उपलब्ध हुन सक्ला? यी यस्ता प्रश्न हुन् जसको सटिक जवाफ अहिलेको अवस्थामा छैन ।
 
गत वर्ष डिसेम्बरमा चीनमा सुरु भएको कोरोनाभाइरसको महामारीले विश्वलाई लगभग ठप्प बनाएको थियो । करिब सात महिनाको अन्तरालपछि बल्ल परिस्थिति सामान्यतर्फ उन्मुख भइरहेको बेला कोरोनाभाइरसको दोस्रो लहरको आशंका बढ्न थालेको छ ।
 
विश्वका कयौँ मुलुकमा कोरोनाभाइरस संक्रमणको नयाँ मामिला देखा पर्दै गएको छ । सावधानी अपनाउँदै सरकारहरुले केही साताअघि खुकुलो तुल्याएका बन्देजहरुलाई फेरि कडाइका साथ लागू गर्न थालेका छन् ।
युरोपमा संक्रमणको नयाँ मामिला तीव्र रुपमा बढ्न थालेको छ । जसका कारण नयाँ दिशानिर्देश जारी गर्दै सरकारहरुले प्रतिबन्ध लगाउन थालेका छन् ।
 
बेल्जियमका स्वास्थ्यमन्त्रीले देशमा कोरोनाभाइरस संक्रमणको मामिला चाँडै नै चिन्ताजनक स्थितिमा पुग्नसक्ने चेतावनी दिएका छन् । सोमबारदेखि बेल्जियममा नयाँ प्रतिबन्ध लागू गरिएको छ, जसमा सबै रेस्टुरेन्ट–बारलाई चार सातासम्मका लागि बन्द गर्न भनिएको छ ।
 
इटलीले पनि आइतबार नयाँ प्रतिबन्ध घोषणा गरेको छ । दैनिक संक्रमणको बढोत्तरीलाई मध्यनजर गर्दै त्यहाँ कडा प्रतिबन्ध लागू गरिएको छ । जसअनुसार घर बाहिर निस्किदा फेस मास्क अनिवार्य लगाउनुपर्ने छ । इटलीका प्रधानमन्त्रीले लकडाउनको विकल्पका रुपमा प्रतिबन्ध लागू गरिएको बताएका छन् ।
 
फ्रान्सका मुख्य ९ सहरमा संक्रमितको संख्या बढ्दै गएपछि कर्फ्यु जारी गरिएको छ । पेरिससमेत फ्रान्सका ९ सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको हो । सो अवधिमा कोही घरबाट बाहिर निस्किनका लागि यथेस्ट आधार भएमा मात्र छुट दिइने जनाइएको छ । अन्यथा त्यस्तो व्यक्तिलाई जरिवाना तिर्न लगाउने सरकारको भनाइ छ । यो नियम कम्तीमा पनि चार साताका लागि जारी गरिएको हो ।
 
चेक रिपब्लिकमा स्थिति सर्वाधिक चिन्ताजनक छ । त्यहाँ कोरोना संक्रमणको नयाँ मामिलाको दर सर्वाधिक रहेको बताइन्छ । चेक रिपब्लिक सरकारले देशभर लकडाउन जारी गर्नेबारे विचार गरिरहेको जनाइएको छ ।
यस्तै आयरल्याण्डमा बुधबार मध्यरातदेखि ६ साताका लागि कडा प्रतिबन्ध लागू हुँदैछ । कोरोना संक्रमणमा बढोत्तरीसँगै त्यहाँको सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
 
पोल्याण्डले मार्च÷अप्रिलसम्म महामारीलाई कुशलतापूर्वक सम्हालेको थियो । कोरोना संक्रमण नियन्त्रणमा त्यहाँको सरकारको निकै प्रशंसा पनि भएको थियो । तर गत साता पोल्याण्डमा प्रतिदिन संक्रमणका सरदर १० हजार नयाँ मामिला प्रकाशमा आएको छ ।
 
यस्तै, जर्मनीमा सरकारले संक्रमणको बढ्दो मामिलालाई मध्यनजर गर्दै सार्वजनिक भवनमा भेन्टिलेसनको प्रभावकारी व्यवस्था गर्न ४५२ मिलियन पाउन्ड खर्च गर्ने भएको छ । त्यहाँ कोरोना संक्रमणको मामिला बढ्दै गएको छ । जर्मन चान्सलर एंगेला मर्केलले नागरिकलाई घरमै बस्न अपिल गरेकी छन् । उनले बार एवं रेस्टुरेन्ट चाँडै बन्द गर्न निर्देशनसमेत दिएकी छन् । जर्मन सरकारले ठुलो संख्यामा मानिस भेला हुन प्रतिबन्ध लगाएको छ भने कोरोनाको उच्च जोखिम रहेका मुलुकबाट जर्मन आउने यात्रीले कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
 
यस्तै, वेल्समा शुक्रबारदेखि दुई साताका लागि लकडाउन जारी गरिएको छ । त्यहाँ पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
स्विटजरल्याण्डमा सोमबारदेखि सार्वजनिक भवन र स्थलमा फेस मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू गरिएको छ । यस अतिरिक्त सार्वजनिक रुपमा १५ जनाभन्दा बढी मानिस भेला हुन पनि रोक लगाइएको छ ।
स्पेन सरकारले मड्रिड र आसपासका क्षेत्रमा शुक्रबारदेखि १५ दिनका लागि आपतकाल घोषणा गरेको छ । केहीले भने सरकारको उक्त कदमको विरोध गरेका छन् ।
 
नेदरल्याण्डमा १४ अक्टोबरदेखि सबै बार तथा रेस्टुरेन्ट, कफी शप बन्द गरिएको छ । त्यहाँका नागरिकलाई सम्भव भएसम्म घरबाटै काम गर्न र अनावश्यक रुपमा बाहिर ननिस्कन सुझाव दिइएको छ ।
ग्रीसमा पनि सार्वजनिक स्थलमा जाँदा फेस मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू गरिएको छ ।
 
पोर्चुगलमा पाँचजना भन्दा बढी मानिस एकठाउँमा भेला हुन रोक लगाइएको छ । यस अतिरिक्त विवाहजस्ता समारोहमा अधिकतम ५० जनामात्र उपस्थित हुन पाउनेछन् ।
युरोपका अतिरिक्त अमेरिकामा पनि कोरोनाभाइरस संक्रमणका नयाँ मामिला बढ्दै गएको छ । यसका साथै अस्पतालमा भर्ना हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ । शुक्रबार अमेरिकामा संक्रमणका करिब ७० हजार नयाँ मामिला रेकर्ड गरिएको छ, जो कि गत जुलाईपछि एकैदिन सर्वाधिक रेकर्ड भएको यो नै पहिलो पटक हो । गत साता अमेरिकाका ४८ राज्यमा संक्रमणका मामिला तीव्र रुपमा बढेको पाइएको छ ।
 
जोन होपकिन्स विश्वविद्यालयले जारी गरेको तथ्यांक अनुसार विश्वमा कोरोनाभाइरसको संक्रमण हुने मानिसको संख्या चार करोड नाघिसकेको छ । यस्तै मृत्यु हुनको संख्या ११ लाख १७ हजारभन्दा बढी छ ।
अमेरिका कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकको सूचीमा शीर्ष स्थानमा छ भने दोस्रोमा भारत र तेस्रोमा ब्राजिल छ ।
-बीबीसी हिन्दी